दोलखा  / पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर रोङसी खोला थुनिएको हो ।

पहिरोले थुनिएको खोला ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बताए । ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,’ उनले भने, ‘उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ ।’

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको घिमिरेले बताए । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको  घिमिरेले बताए । 

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान  आग्रह गरेको छ ।

तामाकोसी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाको बाँधले प्रतिसेकेन्ड ६ सय घनमिटरको बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने छ । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ ।