महोत्तरी / महोत्तरीमा सडक दुर्घटनामा परी एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो ।

रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

शुक्रबार साँझ भएको सो घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएपछि स्थिति साम्य भएको छ ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले शनिबार शोक व्यक्त जारी गरी घटनाको अनुसन्धान गरेर बस्तीभित्र तीव्र गतिमा टिपर चलाउने चालकलाई हदैसम्मको सजाय र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।