काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद् एवं पार्टीका नेता कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त गरेको छ ।
नेता परियारको ६८ वर्षको उमेरमा शुक्रबार बिहान नेपालगन्ज–१२ कोरियनपुर स्थित आफ्नै निवासमा निधन भएको थियो । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले पीडित थिए ।
लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका परियार विसं २०४८ मा कांग्रेसको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए ।
मानव मानवबीच हुने जातिय विभेदविरुद्धको आन्दोलनका अग्रणी नेता एवम् पूर्वसांसद परियार विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित चई संसद्मा राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जन निर्वाचित सांसद भएका नेता परियार वीपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाको विरुद्धमा सङ्घर्ष गर्दा जेल समेत पारेका थिए ।
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियारलाई इमान्दार नेताको रूपमा लिने गरिन्थ्यो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले शोक विज्ञप्तिमार्फत दिवंगत नेता परियारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ । पार्टीको विभिन्न तहमा रहेर सङ्गठन विस्तार तथा सुदृढीकरणमा सदैव क्रियाशील नेता परियारको निधनले कांग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।