बिर्तामोड / कुटनीतिक राहदानी रातो पासपोर्ट दुरुपयोगमा पक्राउ परेका व्यक्तिलाई नै केपी शर्मा ओलीले पछिल्लो मन्त्रीपरिषदमा वनमन्त्री बनाएपछि उनको अष्ट्रेलियामा भेटिएको पासपोर्ट सार्वजनिक भएको छ ।
ओली सरकारका वन मन्त्री नारदमुनि रानाको अष्ट्रेलियामा भेटिएको पासपोर्ट काठमाण्डौको एक संचारमाध्यमबाट सार्वजनिक भएको हो । रातो पासपोर्टको दुरुपयोगमा पक्राउ परी कारवाहीमा परेका राना मन्त्री बनेपछि पुरानो यो घटनाका प्रमाण सतहमा आएको हो । उनको पासपोर्ट प्रयोग गरी एक व्यक्ति लाई अष्ट्रेलिया पठाएको अभियोगमा उनीमाथि कारवाही भएको थियो ।
सार्वजनिक भएको मन्त्री रानाको ०२१२४४ नम्बरको कूटनीतिक पासपोर्टमा जन्म मिति १९७२ जुलाई १७ भएको उल्लेख छ । सन् २०१० सेप्टेम्बर १९ मा बनेको पासपोर्टको म्याद २०११ सेप्टेम्बर १८ मा सकिएको छ । सो समयमा उनले बनाएको सो पासपोर्ट प्रयोग गरी म्याग्दीका निर्मल बानियाँ आफ्नो फोटो टाँसेर अष्ट्रेलिया पुगेका थिए । उनको पासपोर्टमा अष्ट्रेलिया पुगेका बानियाँ अझै सम्म फेला परेका छैनन् ।
मानव तस्करीमा संलग्न गिरोहले नेतासँग कूटनीतिक पासपोर्ट किनेर नेपाली युवासित लाखौ रुपैंया लिएर उनीहरुलाई युरोपका विभिन्न मुलुक पठाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । रातो पासपोर्ट दुरुपयोगमा संलग्न रहेको अभियोगमा सो समयमा राना सहित ११ जनामाथि प्रहरीले मुद्धा समेत चलाएको थियो ।
मन्त्री नारदमुनि रानासँगै अर्का नेता तथा पुर्व सांसद शिव पुजन राय यादवको पनि रातो पासपोर्ट अष्ट्रेलियामै फेला परेको दावी गर्दै सो अनलाइनले यादवको रातो पासपोर्ट पनि सार्वजनिक गरीदिएको छ ।
यादवको पासपोर्टमा जन्म मिति १९७० अगस्त २६ र पासपोर्ट नम्बर ०२०४४५ उल्लेख छ । यादवको पासपोर्टमा म्याग्दीकै केदार पौडेल नक्कली सभासद बनेर अष्ट्रेलिया पुगेको अनुसन्धानका क्रममा खुलेको बताईएको छ ।