पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वास मत पाएका छन् । मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता नवित्दै शुक्रबार विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् ।
शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।
प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गरे ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।