बिर्तामोड / नेपाल सरकारले तामझाम र प्रचारसहित अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ ध्वस्त हुने समय आएको नास्टले जनाएको छ ।
स्याटेलाइट पठाएको दिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन संचार मन्त्री गोकुल बाँस्कोटाले अन्तरिक्षमा नेपाल पुगेको र नेपालको आफ्नै स्याटेलाइट भएको भन्दै भव्य प्रचार गरेका थिए ।
नेपालले दुई वर्ष अघि सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पठाएको नेपाली स्याट–१ ले पृथ्वीको ११४०० फन्को लगाएको छ । मात्रै छ महिना समय भएको स्याटेलाइट पनि दुई वर्ष पृथ्वीको फन्को लगाएसँगै ध्वस्त हुने चरणमा पुगेको छ ।
केन्द्रबाट नेपालको स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानको इगुसु स्याटेलाइट एकैसाथ अन्तरिक्षमा पठाईएको थियो । पृथ्वीदेखि ४ सय २० किलोमिटरमाथि अन्तरिक्षमा घुमिरहेको स्याटेलाइट पृथ्वीतर्फ झर्न थालेको नासाले जानकारी गराएको छ । स्याट–१ पृथ्वी तिर आउन थालेको र अहिले ३ सय ३० किलोमिटर दुरीमा रहेको नासाले बताएको छ ।
निर्माण कम्पनिले छ महिना आयु भएको स्याटेलाइटले अन्तरिक्षमा ७ सय ३० दिन बिताएको अबको तिन महिना भित्र ध्वस्त हुने नास्टले अनुमान गरेको छ । पृथ्वी तर्फ झर्न सुरु भएको स्याट–१ ले ध्वस्त हुने क्रममा करिव ११ सय पटक पृथ्वीको वरीपरी घुम्ने अनुमान गरिएको छ ।
पृथ्वी तर्फ झर्ने क्रममा रहेको स्याट –१ वायुमण्डलमा प्रवेश गरेपछि घर्षणका कारण जलेर खरानी हुने बताईएको छ । अन्तरिक्षमा रहेको स्याट–१ ले हालसम्ममा ६० वटा तस्बिर खिचेर पठाएको छ ।