काठमाण्डौ / संसद विघटनका विषयमा सर्वोच्च अदालतमा जारी मुद्धाको राष्ट्रपति कार्यालयले जवाफ दिएको छ ।
राष्ट्रपति कार्यालयले सर्वोच्चलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ दिंदै प्रधानमन्त्री पदमा दावी गर्ने कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको विश्वासको मत पाउने आधार नदेखिएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नसकिएको जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले संसद विघटनको मुद्धाका विषयमा लिखित जवाफ बुझाएका हुन् ।
जवाफमा भनिएको छ–‘ दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थन कर्ता भनिएका सदस्यहरु एक अर्कोको दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको समेत देखिएको हुनाले दुवै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा (५) बमोजिमका प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले दावीकर्ता दुबै माननीय सदस्यहरुको दावी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्त गर्न मिल्ने देखिएन् ।’