जनकपुरधाम / महोत्तरीको सम्सी गाउँपालिकामा सुनचाँदी पसलेलाई गोली हानी एक समूहले लाखौँको धनमाल चोरी गरेको छ ।

सम्सी गाउँपालिका –१ स्थित सम्सी–गौशालामा आफ्नै घरमा राजीव ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेका वीरेन्द्र साहको घरमा गए राति एक समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको धनमाल लुटपाट गरेका हो । 

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले राति २ बजेको समयमा नौ दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएको उक्त समूहले नलकटुवा पेस्तोलले घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका बताएका छन् । 

साथै उनकी श्रीमती ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रनाउ विष्टले बताए।

उक्त समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद रु दुई लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा रु नौ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई गए राति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगेर उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र अन्य प्रहरी एकाइबाट खोजतलासका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।