काठमाण्डौ / कोरोना रोकथाम तथा नियन्त्रणका लागि हाल जारी निषेधाज्ञा र लकडाउनको सरकारले स्वरुप परिवर्तन गर्ने भएको छ ।

सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिकोले संक्रमण नियन्त्रण गर्न  र मुलुकलाई गतिशिल बनाउँन अत्यावश्यक वस्तुको उत्पादन र आपूर्ति हुने गरी  ‘स्मार्ट लक डाउन’मा जाने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

समितिको दोस्रो वैठकले लकडाउन कायम राख्दै परिस्थितिको मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउँदै केही क्षेत्र खुला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका कतार, साउदी अरेबिया, यूएई,  टर्की, जापान र मलेसिया लगायतका मुलुकमा बन्द रहेको हवाई उडान समेत पुनः सुचारु गर्ने निर्णय गरेको छ ।

सरकारले तोकेका मुलुकमा हप्तामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् । वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टीनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने पनि वैठकले निर्णय गरेको छ । ति मुलुकमा क्वारेन्टीनमा बस्दाको समय मध्ये १० दिनको खर्च सरकारले ब्यहोर्ने पनि वैठकले निर्णय गरेको छ ।

बैठकले निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका गर्न लगाई खोल्न दिइने निर्णय गरेको छ । कोरोना रोकथामका लागि ४० लाख डोज खोप खरिदको प्रकृया अघि बढाउने पनि वैठकले निर्णय गरेको छ ।