बिर्तामोड / पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी र प्राकृतिक विपतको सबै मिलेर सामाना र न्युनिकरण गर्नुपर्ने बताएका छन् ।
एक सन्देश जारी गरी पुर्व राजा शाहले मनसुनको प्रारम्भमै भएको वर्षा र वाढी –पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
वितगमा कुनै घटना र परिस्थितिका विषयमा सन्देश जारी गर्ने क्रममा सरकारलाई आग्रह गर्ने गरेका पूर्वराजा शाहले यसपटकको सन्देशमा भने सबै पक्ष र सबै मिलेर विपतको न्युनिकरण गर्नु पर्ने बताएका छन् । उनले सबै पक्ष भनेर आफ्नो भूमिका खोजिरहेका जनता र राजनितिक दल समेतलाई सन्देशमा संकेत गरेका छन् ।
जारी सन्देशमा भनिएको छ –मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तिव्र वर्षात आउने समयमा अझ के के हुने हो ? यस्तो वेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्युनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ । प्राकृतिक विपत्ति सवैको चिन्ताको विषय भएकाले पुर्व सावधानी राख्ने , तयारी गर्ने , सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भिर ध्यान जानु पर्ने देखिन्छ ।
हिमाल, पहाड र तराईका धेरै जिल्लाहरूमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद् खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ,’ पूर्वराजा शाहद्वारा जारी सन्देशमा भनिएको छ ।