दाङ  / नेकपा (एमाले)ले दाङ क्षेत्र नम्बर–३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य विमलाकुमारी खत्री ओलीलाई आज तीनदिने स्पष्टीकरण सोधेको छ ।

गएको जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेका हुन् ।

OM Sai Pathibhara Hospital

एमालेका तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा परी निधन भएपछि ओली पत्नी विमला नेकपाको तर्फबाट उपनिर्वाचनमा उम्मेदवार भई प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको लामो समयपछि विमलाले गएको वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्र रोजेकी थिइन् ।

स्पष्टीकरणमा पार्टी रोज्नुअगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भइसकेपछि विमलाले रोज्न पाउने हक गुमाइसकेको उल्लेख छ । “पार्टीको ह्वीपविपरीत सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको कारण खोज्दै एमालेले तपाईंमाथि कारबाही किन नगर्ने ?,” स्पष्टीकरणपत्रमा भनिएको छ ।