बिर्तामोड / सोमबार देखि लगातार परेको बर्षाका करण सिन्धुपाल्चोक लागायत देशका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । 

अविरल वर्षासँगै मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची लगायत बजार डुबाएको छ । अहिलेसम्म बाढीपहिरोका कारण ७ जनाको मृत्यु भएको छ । 

OM Sai Pathibhara Hospital

प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

बाढीले घर, सडक र पुलहरुमा क्षति पुर्याएको छ । प्राप्त जानकारी अनुसार मेलम्ची खानेपानी आयोजनाको ड्याममा सामान्य क्षति पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा अधिक क्षति भएको छ ।

त्यसैगरी लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ ।

‘बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए । ‘अरु ३, ४ वटा घर पनि पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो,’ उनले भने ।

बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत नै बन्द भएको छ । बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले बताए । 

राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए ।

त्यस्तै गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् ।

धुर्कोट गाउँपालिका –५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् ।

यस्तै मदाने गाउँपालिका –२ म्यालपोखरिमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् ।

रूरूक्षेत्र गाउँपालिका –१ लामाचौरपारिमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुवानमा परेका हुन ।