बुटवल / आफ्नै श्रीमतीको योजनामा कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या भएको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु – ६ को गोबरी सडक खण्डमा भएको नेता पाण्डेको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको हो । मोटरसाईकलमा सवार पाडेको एक अपरिचित समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।

सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरी पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डेसहितको समुह संलग्न रहेको जानकारी गराएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले पाण्डेकी श्रीमती महिमाले कपिलवस्तु १ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बताएका छन् । उनले हत्यामा संलग्न ओमप्रकाश र  महिमाको अनैतिक सम्बन्ध रहेको पनि अनुसन्धानका क्रममा खुलेको जानकारी गराए ।

OM Sai Pathibhara Hospital

ओमप्रकाश र महिमाको सम्वन्धका विषयमा नेता पाण्डेले थाहा पाएपछि अवैध सम्वन्ध लुकाउन हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुले पाण्डेको हत्याका  लागि कपिलवस्तु २ का रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको प्रहरीले बताएको छ ।

हत्याका विषयमा अनुशन्धान गर्न बनेको छानविन समितिले हत्यामा संलग्नलाई हतियार दिने समुहको समेत पहिचान गरेको छ । हतियार र हत्यामा सहयोग गरेको अभियोगमा प्रहरीले कपिलवस्तु १ का ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु २ का सद्दाम हुसेन खान, यशोधरा ४ का राजेश भनिने ज्ञानेन्द्रकुमार पाण्डे , यशोधरा ४ का गोलु भनिने राधेश्याम चौधरी, कपिलवस्तु ५ का सिरिया भनिने श्रीराम कुर्मी, कपिलवस्तु १ का मोटे भनिने नसरत अलि र कपिलवस्तु २ का प्रवीण गुप्तालाई समेत पक्राउ गरेको छ ।