बिराटनगर  / सुनसरीको सिमाक्षेत्रबाट अवैध रुपमा गएको स्याउ भारतमा बरामद भएपछि यो घटनामा संलग्न रहेको अभियोगमा तिन प्रहरीलाई निलम्वन गरी जनपथ प्रहरी शसस्त्र प्रहरीको प्रधान कार्यालयको निर्देशनमा प्रदेश कार्यालयले छानविन थालेका छन् ।

नेपालबाट अवैध रुपमा तस्करी भई गएको चाइनिज स्याउ भारतको वीरपुरमा बरामद भएपछि तस्करीमा संलग्न भएको आशंकामा प्रधानकार्यालयको निर्देशनमा जनपथ र शसस्त्र प्रहरीका एक नम्वर प्रदेश कार्यालयले छानविन समिति बनाएका हुन् ।

OM Sai Pathibhara Hospital

सुनसरीको कोसी, श्रीपुर र भाण्टाबारी क्षेत्रबाट मिलेमतोमा लामो समय देखि झापाका व्यवसायीको कपडा र चाइनिज स्याउको अवैधरुपमा कारोवार हुदै आएको थियो । अवैध रुपमा भित्रिएको चाइनिज स्याउ नै भारतमा बरामद भएपछि दवावमा परेका प्रहरी संगठनले सो विषयमा छानविन गर्न समिति बनाएका हुन् ।

जनपथ प्रहरीको प्रदेश कार्यालयले भाण्टावारीका ईन्चार्ज प्रहरी नायव निरीक्षक गंगा थापा , श्रीपुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर कार्की र कोशी कटानका प्रहरी सहायक निरीक्षक आशनारायण माझिलाई निलम्वन गरेको छ भने ती कार्यालयमा रहेका ३१ जना प्रहरीलाई पनि छानविनका लागि भन्दै एकै पटक फिर्ता बोलाएको छ ।उनीहरुको स्थानमा प्रहरी नायव निरीक्षक दिपक कार्की , नायव निरीक्षक वर्षकुमार राई र प्रहरी सहायक निरीक्षक नवीन श्रेष्ठको नेतृत्वमा नयाँ टोली पठाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले सो विषयमा छानविन गर्न वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ । समितिलाई ७ दिनको समयावधि दिईएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।

उता ति क्षेत्रमा तस्करी भएको दिन ड्युटीमा रहेका शसस्त्र प्रहरीका निरीक्षक सहित १५ जनालाई पनि शसस्त्र प्रहरीको पुर्वि मुख्यालय इटहरीले छानविनका लागि भन्दै फिर्ता बोलाएको छ । मुख्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले सो विषयमा छानविन समिति बनाएर छानविन थालिएको जानकारी गराएका छन् ।