विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको धार्मिक एवं साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गाको सरकारले संरक्षण गर्ने बताएका छन् ।
प्रदेश सभामा सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिंदै राईले खुवालुङको संरक्षण गर्ने बताएका हुन् । संघीय सरकारले ल्याएको बजेटमा जलयातायात सञ्चालनका लागि नदीमा रहेका अवरोध हटाउने विषयले खुवालुङ फुटाउन सरकार लागेको भनेर आरोप लागिरहेका बेला उनको यस्तो भनाई आएको हो ।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सीमानामा अरुण, तमोर र दूधकोशीको संगममा रहेको ठूलो ढुंगा खुवालुङ किरात समुदायको संस्कृति , मुन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा भएकाले त्यो ढुंगा फुटाउने सरकारी निती नभएको राईले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको एक सभालाई सम्वोधन गर्ने क्रममा सप्तकोशी नदीमा मोटरवोट चलाउन समस्या भएकाले सो ढुंगा फुटाउने बताएका थिए । प्रधानमन्त्रीको सो भनाई लगत्तै खुवालुङ जोगाउन किराती समुदाय देशव्यापीरुपमा आन्दोलनमा उत्रिएको थियो ।