तनहुँ / तनहुँको म्याग्दे गाउँपालिका –२ स्थित ज्यानटाङ समुदायिक बनमा रुखमाथि घर निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा  रूखमाथि घर बनाइएको हो । 

निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर  निषेधाज्ञाकै बीचमा पनि दैनिक १५–२० जना सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् । 

OM Sai Pathibhara Hospital

रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ’, उनले भने ।उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । ‘उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ’, उनले भने, ‘रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।’

रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ ।’दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच(सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ’, उनले भने । उक्त ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजीकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।

डिभिजन वन कार्यालयमार्फत गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भिमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछ । हरितपार्क कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका(८ पीपलडाँडामा रु १२ लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिनेछ ।

सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । यसका लागि वन कार्यालयले रु पाँच(पाँच लाख बजेट विनियोजन गरेको छ ।