काठमाडौं / मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यामन्त्रीलाई पत्र लेखेका हुन् ।
झाले प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व रहेको भन्दै यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखेका छन् ।
प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव छिन् ।
उनले पत्रमा भनेका छन् – ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसी लगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ’ ।
पुनर्गठिन मन्त्रिपरिषद्मा महिलालाई मन्त्री नबनाएको भन्दै एमालेले पनि प्रश्न उठाएको छ ।