पोखरा / तेस्रो पटक लाईन परिवर्तन गरी मन्त्री बनेका विवादास्पद छवीका गण्डकी प्रदेशका बिना विभागिय मन्त्री दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।
लामो समय ओली नेतृत्वको एमालेको पक्षमा आफुलाई उभ्याउँदा आएका मनाङेले शपथ ग्रहण गर्नु अघि प्रधानमन्त्री ओलीका विषयमा विवादास्पद टिप्पणी गरेका हुन् । ओली तर्फ संकेत गर्दै उनले दुईटै किड्नी नभएको मान्छेको पछि लाग्नेको भविष्य नरहेको बताएका हुन् । गण्डकीमा बनेको नयाँ प्रदेश सरकारमा आफुलाई कांग्रेसका पक्षमा उभ्याएका उनले किड्नी नभएका ओलीको पछि लाग्दा भविष्य नदेखेरै आफूले लाइन परिवर्तन गरेको दावी गरेका हुन् ।
ओलीको पछि लाग्नेको बुद्धि नै नभएको दावी गर्दै उनले अरुको किड्नी हालेर बाँचिरहेको मान्छेको पछि लाग्दा भविष्य नरहने बताएका हुन् । ओलीको विषयमा टिप्पणी गर्दै उनले भने ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’