पोखरा / प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि नबढाईदिंदा नयाँ सरकार गठन हुन सकेको छैन ।

माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गरी ओलीले उनको ठाउँमा ल्याएका पौडेलले आफैंले दिएको समय समेत पालना नगरेपछि गण्डकी प्रदेशमा किचलो सुरु भएको हो । एमालेकै ओली समुहका नेता पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएपछि नयाँ सरकार गठनका लागि दिएको समय भित्र वहुमत प्राप्त विपक्षी गठबन्धनका नेतालाई पौडेलले नियुक्ति गर्न आनाकानी गर्न थालेपछि किचलो सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि दिएको समय ३ बजे सकिए पनि मुख्य मन्त्री नियुक्तिको प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको छ । प्रदेश प्रमुखको आनाकानीपछि काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसद सामुहिक छलफलमा जुटेको सांसद विन्दु थापाले जानकारी गराएका छन् ।

वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् । विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सहित शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्य मन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख पौडेलले मुख्य मन्त्री नियुक्तिमा आनाकानी गरिरहेकै समयमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र बुझाउँदै मुख्य मन्त्रीमा दावी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलको नेता भएको दावी गर्दै गुरुङले पत्र बुझाएका हुन् । गुरुङले विपक्षी गठबन्धनमा रहेको जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन्  । उनले राजपाका एक सांसद पनि आफ्नो पक्षमा रहेको दावी गरेर प्रदेश प्रमुख समक्ष पत्र बुझाएका हुन् ।

संघिय सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर सहित पत्र बुझाउँदा समेत प्रधानमन्त्री बन्न नपाएका कांग्रेस सभापति शेर बहादुर देउवाको विवादास्पद राजनितिक घटना सम्झाउने गरी गण्डकीमा अर्को त्यस्तै दृष्य देखिन थालेको हो ।