जनकपुर / उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री एवं एमालेको ओली समुहका नेता रघुविर महासेठ गृहजिल्ला पुगेपछि स्थानिय निकायले स्वागतका नाममा लाखौं रुपैंया खर्च गरेका छन् ।

कोरोना महामारीले मुलुक नै आक्रान्त रहेका बेला गृहजिल्ला पुगेका महासेठका लागि ओली समुहका नेता मेयर रहेका नगरपालिकाले सरकारी ढुकुटीको लाखौं रुपैंया खर्च गरेका हुन् । सकृय राजतन्त्रको समयमा भएका भ्रमणको झल्को दिने गरी महासेठको स्वागतमा लाखौं रुपैंया खर्च गरिएको हो ।

OM Sai Pathibhara Hospital

ओली समुहका नेता मेयर रहेको मिथिला विहारी नगरपालिकाले अक्सिजन सिलिण्डर वितरणका लागि पुगेका महासेठका लागि सरकारी ढिकुटिको रकम खर्च गरिएको हो । कोरोनाले आम नागरिक रोग र भोकसँग लडिरहेका बेला शनिबार आएका महासेठका लागि मिथिला विहारी नगरपालिकाले स्वागतमा लाखौं रुपैंया खर्च गरेको छ ।

नगरपालिकाले लाखौं खर्च गरेर सडकमा ठाउँ–ठाउँमा गेट बनाएर सयौं भेला पारेर पुष्पवृष्टि गरी स्वागत गरिएको हो  । आफ्नी पत्नी जुली महतो सहित पुगेका महासेठलाई मिथिला विहारीका मेयर अनिल यादवले उपहार समेत दिएका छन् ।

मेयर यादवले स्वागतमा भएको खर्चको हिसाब गर्न बाकि रहेको बताउँदै बजेटमा रहेको विविध खर्च र अतिथि स्वागत शिर्षकबाट खर्च गरिएको बताएका छन् । उनले प्रधानमन्त्री र मन्त्री आउँदा स्वागत गर्ने गरिएकाले महासेठ दम्पतीको लागि पनि स्वागतमा खर्च गरिएको दावी गरेका छन् ।

त्यसैगरी धनुषाकै अर्को नगरपालिका  मिथिलाले पनि महासेठको स्वागतमा सरकारी कोषबाट लाखौं रुपैंया खर्च गरेको छ । महासेठ निकट अनि एमालेकै ओली समुहका मेयर रहेको नगरपालिकाले सडकका ठाउँ ठाउमा गेट बनाएर पुष्पवृष्टि गरेर स्वागत गरेको छ ।  सो नगरपालिकाका मेयर हरिनारायण महतोले बजेटमा रहेको अथिति सत्कार तथा स्वागत शिर्षकको रकम खर्च गरिएको बताएका छन् ।