जनकपुर / उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं नेकपा एमालेको ओली समुहका नेता तथा रघुवीर महासेठले आफ्नो गृहजिल्लाका स्थानीय तहलाई अक्सिजन वितरणमा विभेद गरेका छन् । एमालेको ओली समुहका मेयर भएका पालिकालाई बेसी दिएर अन्य दलका मेयर भएका पालिकालाई कम सिलिण्डर दिएका हुन् ।
महासेठको निर्वाचन क्षेत्र समेत रहेको गृहजिल्ला धनुषाका १८ स्थानीय तहलाई सिलिण्डर वितरण गर्दा उनले आफु र आफ्नो दलका मेयर भएका पालिकालाई बेसी दिएर अन्यलाई कम दिएका हुन् । ओली समुहका मेयर रहेका मिथिला नगरपालिका र मिथिला बिहारी नगरपालिकालाई महासेठले १०–१० थान अक्सिजन सिलिण्डर दिएर अन्य दलका मेयर रहेका जनकपुर उपमहानगरपालिका सहितका १६ पालिकालाई ५ वटा सिलिण्डर दिएका हुन् ।
प्रदेश २ को राजधानी र जनसंख्या समेत बढी भएको अनि कोरोना संक्रमित समेत बेसी रहेको जनकपुरधाम उप–महानगरपालिकालाई कम दिएर ओली समुहका नेता मेयर रहेका पालिकालाई बेसी सिलिण्डर वितरण भएपछि महासेठको सरकारी रवैया अनि कामको आलोचना हुन थालेको छ ।