बिर्तामोड / बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भू–भाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

OM Sai Pathibhara Hospital

महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

हाल देशको पुर्वी भू–भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानाङ्गले बताए । 

आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै  स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं २, वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।