दाङ / तुलसीपुर उपमहानगरपालिका –८ अस्वारास्थित गहते खोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । आज दिउँसो  १ः०० बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो । 

उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका –८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । 

प्रहरीले पेस्तोलसहित छ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ । भारतमा बस्दै आएका पूर्णबहादुर केही समयअघि घर आएका थिए । भारतबाट आउँदा आफूले  पेस्तोल ल्याएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ ।