कञ्चनपुर / कञ्चनपुरको बेदकोट नगरपालिका –५ मा एक किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका –६ का अन्दाजी २३ वर्षीय धनबहादुर विक रहेका छन् भने अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार छन् । 

OM Sai Pathibhara Hospital

बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

अर्का आरोपी युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् । जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले बताएकी छन् । 

सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।