चितवन / चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नं. – ३ ढोडेनीका ३२ वर्षीय खड्कबहादुर गुरुङ रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन मुद्दा परेको छ । उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा रहेका छन् ।
विसं २०७७ भदौं १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुटसमेत गर्ने उनै भएको निकुञ्जको दावी छ । गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चार वटा गैंडा मारेको निकुञ्जले जनाएको छ ।
उनी फरार रहँदै आएका थिए । उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रडसमेत बरामद गरिएको छ ।
योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । तीमध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार प्रतिवादी हुन् ।