पोखरा  / गण्डकी प्रदेशको प्रदेश सभा विघटन नजिक पुगेपछि अन्तिम समयमा आएर विवादास्पद पृष्ठभूमिका युवा तथा खेलकुदमन्त्री दिपक मनाङेले एमालेको ओली समुहको साथ छाडेका छन् । ओली निकट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी भईरहेका बेला उनकै सरकारका मन्त्री मनाङे विपक्षी गठवन्धनको पक्षमा खुलेका हुन् ।

प्रदेश सभा विघटनको बाटोमा गुरुङ लागेकाले प्रदेश सभा जोगाउन आफु विपक्षी गठबन्धनमा लागेको उनले बताएका छन् । मनाङे विपक्षी गठबन्धनमा लागेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना समेत बढेर गएको छ ।

OM Sai Pathibhara Hospital

गत वैशाख १५ गते अविश्वासको प्रस्तावमा मतदान हुने वेलामा आफ्नो सरकार जोगाउन मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले आज प्रदेशसभामा विश्वासको मत लिन तयारी हुँदै गर्दा मनाङे विपक्षी गठबन्धनमा लागेका हुन् ।

प्रदेश सभामा विपक्षी र सत्ता पक्षकै वहुमत नपुग्ने भएपछि गुरुङले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव  घोषणा गर्ने तयारी गरिरहेका थिए । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुने भएपछि विपक्षी गठबन्धनको पक्षमा आफु उभिएको मन्त्री मनाङेले बताएका छन् ।

आफ्नो निर्णय सुनाउँदै मनाङेले भने – ‘सरकार जोगिन्छ, संसद विघटन हुन्न भनेर मलाई मन्त्री बनाएका हुन् , मलाई साथ देउ विघटन गरेर निर्वाचन गरम भन्छन् । मैले साथ दिन सक्दिन भनें ।’

आफु समय बाँकि छदै कसैको स्वार्थमा गर्न लागिएको संसद विघटनको पक्षमा नलाग्ने बताउँदै मनाङेले संसद जोगाउन चाहिने ३१ मत पुर्‍याउने जिम्मा समेत अव आफ्नो भएको दावी समेत गरेका छन् ।

मनाङे विपक्षी गठबन्धनमा खुलेसँगै कांग्रेस नेता पोख्रेल मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको छ । मनाङेको कित्ता परिवर्तनले एमालेको ओली समुहले गण्डकी प्रदेश सरकार गुमाउने अवस्था समेत आएको छ ।