दमक / प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा निर्माण हुने मदन भण्डारी रंगशालाको टेण्डर प्रक्रिया अनियमितता भएको पाईएको छ ।
करिब चार अर्ब रुपैंया खर्च गरी बनाउन लागिएको रंगशालाका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत १६ बैशाखमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा ग्लोवल टेन्डरका लागि ४५ दिनको समय दिनुपर्नेमा ३० दिनमात्र दिइएको छ ।
सार्वजनिक खरिद नियमावलीका प्रावधान समेत मिचेर ग्लोवल टेन्डर गरिएपछि आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ । प्रि–बिड बैठकमा दिएका सुझावहरु कार्यान्वायन नगरिएको र कुनै कम्पनीलाई दिने गरी प्राविधिक योग्यता राखिएकाले मिलेमतो मा ठूलो अनियमितता गर्न खोजिएको उजुरीमा दावी समेत गरिएको छ ।
निर्माण व्यवसायीले करोडौं रुपैंया अनियमितता भएको भन्दै उजुरी गरेपछि अख्तियार र सार्वजनिक खरिद अनुगमन कार्यालयले सो विषयमा छानविन सुरु गरेका छन् । रंगशालाका विषयमा परेका उजुरीका आधारमा छानबिन अघि वढाइएको ति कार्यालयले जानकारी गराएका छन् ।
एमालेको ओली समुहका नेता एवं राखेपका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्रीलाई समेत आफुले मिलाउने बचन दिएर एचएन कन्ट्रक्सनका संचालक करुण श्रेष्ठसँग मिलेर करोडौं रुपैंया आर्थिक हिनामिना गर्न खोजेको निर्माण व्यवसायीले दावी समेत गरेका छन् । ओली कै गृहनगरमा निर्माण हुने रंगशालाको नाममा भ्रष्टाचार भएको जानकारी गराउँदा समेत प्रधानमन्त्रीले कारवाही गर्नुको साटो सिलवाललाई संरक्षण गरेर भ्रष्टाचार गर्न प्रेरित गरेको उनीहरुले आरोप समेत लगाएका छन् ।
एक दशक अघि नै झापाको कमल गाउँपालिका– ५ मा निर्माण हुने भनिएको आदिवासी रंगशाला निर्माणको कामलाई स्थगन गरि सरकारले सो रंगशालाको नाम नै परिवर्तन गरेर दमकमा निर्माण गर्न खोजेपछि यो विषयमा विवाद हुँदै आएको छ ।
राष्ट्रपति विध्या भण्डारीले २०६७ सालमा आफु रक्षा मन्त्री रहेको समयमा कमल गाउँपालीकामा चिहान समेत हटाएर रंगशाला निर्माणका लागि शिलान्यास समेत गरिएको थियो । शिलान्यास भएको स्थानमा आदिवासी जनजाती रंगशाला निर्माण हुन नदिएर ओलीले आफ्नो गृहनगर लगेकोमा आदिवासी जनजाति समुदायले विरोध गरिरहेका छन् । रंगशाला निर्माणको नाममा प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार गर्न खोजिएको विषय सतहमा आएपछि आफ्नै गृहनगरमा बासिन्दाले ओली माथि समेत भ्रष्टाचारको आरोप लगाउन थालेका छन् ।