काठमाडौं / आशंका र अनुमानका भरमा कोरोनाको तेस्रो लहर सुरु हुने र त्यसले बालवालिकालाई प्रभावित पार्ने भनेर संसारभर चलिरहेको बहसलाई नेपाल सरकारले स्विकार गरेको छ । सरकारले तेस्रो लहरबाट बालवालिकालाई जोगाउन तयारी थालिएको समेत जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्री शेर बहादुर तामाङले सोमबार भर्चुअल पत्रकार सम्मेलन गरी कोरोनाको तेस्रो लहर सुरु हुने र तेस्रो लहरमा बालबालिका प्रभावित हुने भएकाले सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्न तयारी थालेको बताएका छन् । उनले कोरोनाको तेस्रो लहर आउनु अघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल थालेको समेत जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

तयारीका विषयमा जानकारी गराउँदै उनले भने –  ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी थालेका छौं’ । सरकारले देशभर ३ सय ९६ वटा अस्पतालको निर्माणका लागि बजेट छुट्याएको जानकारी गराउँदै तामाङले भने – असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु हुनेछ ।

नागरिकको जीवन रक्षा नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै मन्त्री तामाङले कोरोनाबाट नागरिकलाई बचाउन आफुले सकेजति गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।