महोत्तरी / महोत्तरीको गौशाला नगरपालिका –१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्ती गाउँमा पसी तीनवटा घरमा तोडफोड गरेको छ ।

सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरीटोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

तीन वटा हात्तीको समूह अहिले जङ्गल पसेका छन् । बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको चहलपहल बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ । 

महोत्तरी, सर्लाही र धनुषाको उत्तरीभेगका चुरे क्षेत्र नजिकका बस्तीमा वर्सेनी जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ । चितवन निकुञ्जबाट बहेटिदै हात्ती यता आउने गरेको बताइएको छ । पछिल्ला चार÷पाँच वर्षयता महोत्तरीका चुरे नजिकका बस्तीमा तीन वटा नै हात्ती पस्दै आएको हुँदा उही हात्ती वर्सेनी पसेको हुनसक्ने बर्दिबास–३ पाटुका सुदर्शन घिमिरेले बताए । जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भव्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका वनप्लट नजिकका बस्तीमा उत्पात मच्चाउँदै आएको छ । 

वन्यजन्तु विज्ञका अनुसार यही हात्तीको समूहले छिमेकी जिल्ला धनुषाको ढल्केवरमा पछिल्ला चार वर्षबीच दुई जनाको ज्यान लिई सकेको र आहाराको खोजीमा भौतारिदै हात्ती बस्ती पस्ने गरेका छन् ।