रौतहट / रौतहटको गरुडामा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा स्थानीय र प्रहरीबिच झडप हुँदा डिएसपीसहित सात जना प्रहरी घाइते भएका छन् ।

गरुडा नगरपालिकाको वडा नम्बर २ गेडाहीगुठीमा स्थानीयले तीनओटा विवाह समारोहमा भीडभाडका साथ डिजेसहित निषेधाज्ञाको अवज्ञा गरिरहेको अवस्थामा प्रहरीहरुले सम्झाइबुझाइ स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न गराउन निर्देशन दिइ फर्किने क्रममा एक्कासी स्थानीयले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शिद्धिविक्रम साहले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित सात प्रहरी घाइते भएका छन् । घाइते डिएपीसहित प्रहरीहरुको स्थानीय गरुडास्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

गएराति अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न तीन स्थानीयबासीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रौतहटमा कोरोना जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत वैशाख २१ गतेबाट निषेधाज्ञा जारी राखेको छ ।