बिर्तामोड / राजनितिक दल विभाजनको आगो साना दलमा पनि सल्कन थालेको छ । राजनितिक दलको विभाजनको लहर चलिरहेका बेला हिन्दु राष्ट्र र राजसंस्थाको स्थापनाका लागि एकीकृत बनेको राप्रपा पनि फुटको दिशामा हिनेको संकेत देखिन थालेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र बिचको एकतापछि सुरु भएको पार्टी एकताको लहर नेकपा बिभाजन सँगै सकिएको छ । नेकपामा आएको बिभाजन सँगै पार्टी एकता गरेर ठुलो दल बन्ने कोशिसमा रहेको जनता समाजवादी पार्टीमा एक साता अघि मात्रै विभाजन भएको छ । जनता समाजवादी पार्टीको राजेन्द्र महतो र महन्त ठाकुर समुह एमालेको ओली पक्षमा उभिदैं सरकारमा सहभागि भएको छ ।
संसद विघटन पछि राजनितिक रुपमा मुलुक नै ध्रुवीकरणमा रहेको समयमा अर्को सानो दल राप्रपामा पनि विभाजनको खेल सुरु भएको छ । केहि समय अघि विवादास्पद केपी शर्मा ओलीको सरकारमा सहभागि हुने भनेर चर्चामा आएका राप्रपा अध्यक्ष कमल थापाले पार्टीका अन्य दुई अध्यक्षका विषयमा सामाजिक संजाल मार्फत व्यक्त गरेका विचारले पार्टी विभाजन हुने संकेत देखिएको हो ।
सामाजिक संजाल मार्फत थापाले पार्टीका अन्य दुई अध्यक्षको कार्यशैली र क्रियाशीलतालाई लिएर रथ र घोडाको उदाहरण दिएर कटाक्ष गरेका छन् । थापाले अध्यक्षद्वय पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीमाथि शब्द वाण प्रहार गरेका हुन् ।
थापाले धेरै घोडाले तानेको रथले गति नलिने थाहा हुँदाहुँदै तीव्र गति नलिएपनि सामान्य गतिमा हिँड्ने विश्वासमा पार्टी एकता गरिएको तर अहिले पार्टी नै गतिहीन भएको दावी समेत गरेका छन् ।
थापाले लेखेका छन्, दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्दा भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।
पार्टी भित्रको विषय सामाजिक संजाल मार्फत सतहमा ल्याएका थापा लेख्छन्, दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।
ओलीले संसद विघटनसँगै सुरु भएको पार्टी विभाजनको लहरमा नेता थापाको यो भनाईले पार्टी भित्रको उनी नेतृत्वको समुह पनि ओलीको पक्षमा लाग्न सक्ने सम्भावना देखिन थालेको छ ।