फुङ्लिङ / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका  –६ स्थित समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने फक्ताङलुङ हिमालको फेदीमा भक्तजनका लागि भक्तशाला निर्माण भइरहेको छ । 

सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण भइरहेको समितिका अध्यक्ष दीपक ताम्मादेनले बताए । किरात धर्मावलम्बीको पवित्र धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको फक्ताङलुङ हिमालमा दर्शन गर्न आउने दर्शनार्थीका लागि भक्तशाला निर्माण गर्न लागिएको उहाँले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

निर्माणका लागि प्रदेश नं १ सरकारले रु दश लाख र देश विदेशमा रहेका सहयोगी व्यक्तिबाट सहयोग सङ्कलन गरी जम्मा रु ६० लाख लागतमा भक्तशाला निर्माण हुने समितिका सचिव केदारजङ्ग लिम्बूले बताए ।

निर्माणाधीन भक्तशाला ३०० जना बस्ने क्षमताको निर्माण हुनेछ । उच्च हिमालको फेदीमा किराती प्रत्येक वर्ष तीर्थ जाने तीर्थस्थलका रुपमा रहेको फक्ताङलुमा पुग्ने गरेको लिम्बूले बताए । तीर्थयात्री विगतका वर्षमा पाल राखेर बस्दा हिउँ परे समस्या खेप्नुपर्ने भएकाले भक्तशाला निर्माण गर्न लागिएको समितिका सल्लाहकार ज्ञानु फुरुम्बोले बताए ।  

सोह्रौँ राष्ट्रिय विभूति फागुन्द लिङ्देनले १५० जना आफ्ना चेलासँग १९९३ सालमा पहिलोपटक फक्ताङलुङमा पुगेर तपस्या गरेको इतिहास रहिआएको छ । त्यसपछि फक्ताङलङमा तीर्थ जाने प्रचलनको विकास भएको फुरुम्बोले बताए ।