काठमाडौं / पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले मुलुक गम्भीर दुर्घटनामा पर्ने र त्यसको सुचना आफुले पाएको दावी गरेका छन् । काठमाण्डौंबाट संचालित एक टेलिभिजनसँगको कुराकानीका क्रममा नेता भट्टराईले त्यस्तो दावी गरेका हुन् ।
जनआन्दोलन र दरवार हत्याकाण्डको समयमा पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाले पनि ठुलो ग्राण्ड डिजाईन भईरहेको बताएका थिए । उनले सो समयमा गरेको दावीका विषयमा आमजनतालाई भने कहिल्यै जानकारी गराएनन् । स्व. कोईरालाले सो समयमा गरेको दावी रहस्य कै गर्भमा रहेको वेला मुलुकको प्रधानमन्त्री भईसकेका प्रभावशाली नेता भट्टराईको कोइरालाको दावी सँग मिल्दो जुल्दो भनाई सार्वजनिक भएको हो ।
मुलुक नै नरहने खालको ग्राण्ड डिजाईन बनेको आफुसँग सुचना रहेको र सो विषयमा आफुले पुर्व प्रधानमन्त्रीहरु , राजनितिक दलका शिर्ष नेता र प्रधानमन्त्री समेतलाई जानकारी गराएको जनाउँदै उनले समय आएपछि जनतालाई पनि सो विषयमा जानकारी गराउने बताएका छन् ।
मुलुक नै सखाप पार्ने गरी खतरनाक खेल भईरहेको र गत पुष ५ देखि जेठ ८ गते देशभित्र र बाहिर रहेका तत्वहरुको मिलेमतोमा मुलुक नै सिध्याउने गरी ठूलो ग्राण्ड डिजाइन बनेका पनि उनले दावी गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले त्यो डिजाइनका विषयमा जनतालाई जानकारी बेला अहिले नभएको बताउँदै उनले भने – कुनै दिन यथार्थ बाहिर ल्याउने छु , तर अहिले बेला भएको छैन ।
हिमालय टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा सो घटनाका विषयमा स्पष्ट पार्दै डा. भट्टराईले भने, ‘वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ , यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ उनले भने, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्यरातमा भएको भेटको प्रसंग कोट्याउँदै उनले भने – ‘यो देशको कुर्सीमा बसेको प्रधानमन्त्रीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’
आफुले पाएको सुचना देश र जनताका लागि खतरनाक रहेको बताउँदै उनले देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्ने पनि बताएका छन् । नेता भट्टराईले ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको भएपनि प्रधानमन्त्रीले त्यती गम्भिर विषय थाहा हुँदा पनि विषयान्तर गरेको दावी समेत गरेका छन् ।