वीरेन्द्रनगर / राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।

राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा गई टिकटक बनाउन थालेपछि राउटे युवती असुरक्षित भएका छन् ।

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुव्र्यवहार हुन थालेको छ  । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् । 

राउटे युवतीहरुमाथि भएको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति  केही दिनअघि मात्रै गुर्भाकोट –११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् ।