बिर्तामोड / आफ्नै दल नेकपा एमाले र प्रतिपक्षको घेरामा परेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन गरेको मन्त्रिमण्डल पुनर्गठन भने केहिलाई गज्जबको अवसर प्राप्त भएको छ ।
सत्ता टिकाउनकै लागि विवादास्पद नागरिकता विधयेक र ढुंगा तथा गिटी अनि वालुवाको भारत निकासीको विवादास्पद निर्णय गरेका ओलीको पछिल्लो पटक मन्त्रीपरिषद पुर्नगठन भने केहि परिवारका लागि ठुलै उपहार नै भएको छ ।
ओलीको मन्त्रिमण्डलमा केही यस्ता पुराना अनुहार दोहोरिएका छन् , जुन क्रममा सत्ता टिकाउन उनले एकै परिवारभित्रैबाट श्रीमान–श्रीमती समेतले मन्त्री बन्ने अवसर पाएका छन् । पुर्नगठनमा मन्त्री पद गुमाएकी जुली महतोको स्थानमा उनकै श्रीमान रघुविर महासेठले उप–प्रधानमन्त्री नै पाएका छन् ।
रघुविर महासेठ–जुली महतो
प्रधानमन्त्री ओलीको पहिलो मन्त्रिमण्डलमा भौतिक पूर्वाधार मन्त्री रहेका रघुवीर महासेठ लाई दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले स्थान दिएका थिएनन् । यातायात क्षेत्रको सिण्डिकेट हटाउने निर्णको विपक्षमा उभिएपछि उनले विवादित बन्दै मन्त्री पद नै गुमाएका थिए ।
पछिल्लो समयमा मन्त्री बन्न नदिएपछि उनी एमाले भित्रको माधव नेपाल समुहमा लागेका थिए । धनुषा–४ बाट प्रतिनिधि सभामा निर्वाचित उनलाई ओलीले अहिले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका छन् । महासेठ मन्त्री बन्दा उनकी श्रीमती जुली महतो भने मन्त्री परिषदबाट बाहिरिएकी छन्। महतो विघटित प्रतिनिधी सभामा समानुपातिक सांसद हुन्।
शेरबहादुर तमाङ – उषाकला राई
नेता तामाङले कानुनमन्त्री रहेका बेला बंगलादेश पढ्न जाने छात्राका विषयमा बोलेको विवादित बोलीका कारण राजीनामा दिनु परेको थियो । प्रतिनिधि सभा विघटनपछि उनी सुरुमा ओली समुहमा र त्यसको केही दिनपछि माधव नेपाल समुहमा लागेका थिए ।
नेपाल समुह छाडेर ओली पक्षमा आएपछि उनलाई पार्टी कार्यालयको सचिव हुँदै अहिले आएर नयाँ मन्त्रीपरिषदमा स्वास्थ्य मन्त्री बनाईएको छ ।
उनीसँगै नेपाल पक्षमा रहेकी उनकी श्रीमती उषाकला राई पनि प्रदेश १ मा ओली पक्षमा लागेपछि प्रदेश १ को सामाजिक विकास मन्त्री बनेकी छन् ।
अनिल झा – डिम्पल झा
नयाँ मन्त्रीपरिषदमा खानेपानी तथा सरसफाई मन्त्री बन्न सफल भएका जसपाको महन्त ठाकुर पक्षका नेता अनिल झासँगै उनकी श्रीमति डिम्पल झा पनि प्रदेश २ को सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् । रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित झा राजपा नेपालको ६ सदस्यीय अध्यक्ष मण्डलका सदस्य हुन् । उनकी श्रीमती डिम्पल झा राजपाकै समानुपातिक कोटामा प्रदेश सांसद बनेकी हुन् ।
झा दोश्रो संविधानसभा निर्वाचनको बेला संघीय सद्भावना पार्टीका अध्यक्ष थिए। दोश्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएपछि उनले आफ्नो नेतृत्वमा रहेको दलले पाएको एक समानुपातिक कोटामा श्रीमती डिम्पल झालाई संविधानसभामा प्रवेश गराएका थिए ।
२०७१ फागुन १८ मा आफ्नो नेतृत्वमा रहेको संघीय सद्भावना पार्टीलाई झाले सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीसँग एकता गराएका थिए । जसपा बन्ने क्रममा उनी अध्यक्ष मण्डलको सदस्य बन्न सफल भएका थिए ।