बिर्तामोड / नेपालका लागि नेपाली पार्टीले चुरे दोहन गरी तराईलाई मरुभूमी बनाउने सरकारको कुटिल सालबाट सचेत रहन आम जनतामा अपिल गरेको छ । नेपालका लागि नेपाली पार्टीका प्रवक्ता डा.विजय मिश्रले विज्ञप्ती जारी गरी चुरे क्षेत्र दोहन गरी तराईलाई मरुभूमी बनाउने सरकारको निर्णय प्रति सचेत रहन आग्रह गरेका हुन् ।
सरकारले आर्थिक बर्षका लागि जारी गरेको बजेट मार्फत नेपालको व्यापार घाटा न्युन गर्ने भन्दै सरकारले ढुङ्गा गिट्टी, बालुवा निकासी गर्ने निति ल्याएको भन्दै सो निति नेपाल अनि नेपालीको पक्षमा नरहेको सो पार्टीले जनाएको छ । सरकारको निर्णयले तराई क्षेत्र सुख्खा हुने, भूक्षय हुने र मरुभूमी बन्ने अवस्था आउने भएकाले देश हित विपरीतको सो निर्णय सच्याउन जारी विज्ञप्तीमा माग गरिएको छ ।
एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री भएको वेला चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भएको र सो समयमा भूक्षय , पहिरो र पानीको सतह तल गई तराईमा रहेका नहरमा पानी नचड्न थालेपछि सो काम रोकिएको पनि सो पार्टीले स्मरण गराएको छ ।
चुरे संरक्षणको लागि सरकारी कार्यक्रम संचालन भइरहेको बेला चुरे दोहन गर्ने सरकारको निर्णयले सम्पुर्ण तराईबासीहरु त्रसित र भयभित भएको पनि सो पार्टीले जानकारी गराएको छ । क्रसर उद्योगबाट चोरी निकासी भई ढुंगा , गिट्टी र बालुवा भारत तर्फ गईरहेको र त्यस्ता कार्यमा संलग्नले सवारीसाधनमा लुकाएर बहुमूल्य काठ भारततर्फ लाने गरेको पाइएकाले सीमा क्षेत्रमा हुने तस्करीलाई रोक्न समेत जारी विज्ञप्तिमा माग गरिएको छ ।
प्राकृतिक स्रोतको अहिलेको बनोटलाई तहसनहस पारेर गरिने कुनै पनि अप्राकृतिक कामले पार्न सक्ने नकारात्मक प्रभावको सही विश्लेषण नगरी कमिशन र भ्रष्टाचारलाई बढावा दिने अनि आफ्ना पार्टीका कार्यकर्तालाई लाभावान्तित बनाउने उधेस्यले सरकारले चुरे बिनास गर्ने निती ल्याएको पनि विज्ञप्तिमा आरोप लगाईएको छ ।
सो पार्टीले सरकारले व्यापार घाटा घटाउने नाममा मुलुक र दिगो बिकासलाई तहस नहस गर्ने चुरे दोहनको कार्यक्रम नै ल्याएको भन्दै आफ्नो ठाउँबाट जनजाती एवं राष्ट्रहित विपरीतको निर्णयका विरुद्धमा उभिन पनि आमदेशवासीमा अपिल गरेको छ ।