सर्लाही / सर्लाहीको विष्णु गाउँपालिका –७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
किशोरीले अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताए । पक्राउ परेका यादवललाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । किशोरीको उद्धार गरी जिल्ला सदरमुकाममा रहेको एक सेफ हाउसमा राखिएको छ ।