मनाङ / आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल  ६१ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका लागि १७ करोड २७ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार समानीकरण अनुदानतर्फ छ करोड ९९ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ १० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकालाई १५ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकालाई समानीकरण अनुदानतर्फ छ करोड ९८ लाख रुपैयाँ, सःशर्त अनुदानतर्फ छ करोड ८२ लाख रुपैयाँ र विशेष अनुदानतर्फ दुई करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएको पालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

 त्यस्तै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकालाई समानीकरणतर्फ छ करोड ९८ लाख रुपैयाँ र सः शर्ततर्फ आठ करोड ७० लाख रुपैयाँ गरी कूल १५ करोड ६८ लाख रुपैयाँविनियोजन भएको छ । जिल्लाको सडक सञ्जालसँग समेत नजोडिएको विकट क्षेत्र नार्पाभूमि गाउँपालिकालाई रु १२ करोड ५१ लाख विनियोजन भएको छ । गाउँपालिकाले समानीकरणतर्फ छ करोड ८४ लाख रुपैयाँ, सःशर्त अनुदानतर्फ रु तीन करोड ८८ लाख, विशेष अनुदानतर्फ रु एक करोड ३३ लाख र समपूरकतर्फ ४६ लाख बजेट पाएको छ । 

जिल्लाका चार स्थानीय तहमध्ये चामे र नार्पाभूमि गाउँपालिकाले विशेष अनुदान प्राप्त गरेका छन् । जिल्लाका अन्य पालिकामध्ये मनाङ ङिस्याङमा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ ।