काठमाडौँ  / प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । बजेट ल्याउनु १५ दिन अघि प्रि बजेट छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि प्रदेश सरकारले बजेट प्रस्तुत हुनुभन्दा ५ दिन अगाडि मात्रै प्रि बजेट छलफल गर्न मिल्ने गरी ऐन संशोधन गर्न अध्यादेश ल्याएको हो ।

अध्यादेशबाट सरकार चलाउने प्रधानमन्त्रीको प्रदेश सरकारले भद्दा नक्कल गरेको भन्दै प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आपत्ति जनाएका छन् । कानुन छल्न र औपचारिकता पूरा गर्ने उद्देश्यले ल्याइएको अध्यादेश र अध्यादेश बमोजिम प्रदेशसभा नियामावली निलम्बन गर्ने र प्रदेशसभालाई निकम्मा बनाउने सरकारी रबैया कुनै पनि हालतमा स्विकार्य नहुने नेता आङ्बोले बताए ।

OM Sai Pathibhara Hospital

उनले भने, ‘ हामीले सरकारलाई छलफलका लागि पटकपटक भन्यौँ । तर, हामीलाई उडाउने काम भयो । अहिले बाध्यकारी व्यवस्था देखेपछि सरकारले प्रधानमन्त्रीको नक्कल गर्दै अध्यादेश ल्याएर नियमावली संशोधन गर्नु कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन ।’ उनले भने,‘हामी यसको प्रतिवाद गर्छौँ’ ।