इजरायल / इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ । इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् ।

चुनावमा दुई जना प्रतिस्पर्धी रहेका छन् । राष्ट्रपति पदमा उम्मेदवारमध्ये एक जना वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग र अर्का शिक्षाविद् मिरियम पेरेज रहेका छन् । 

OM Sai Pathibhara Hospital

साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए । साथै उनि संसदमा विपक्षी दलको नेता पनि  रहेका थिए । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठेका थिए ।

उनि इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य छन् । उनका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत थिए । उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेश मन्त्री रहेका थिए । 

अर्की उम्मेदवार ६७ वर्षीय पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी छन् । उनि मोरक्कोबाट सानैमा इजरायल आएका थिए  । उनिले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गरेका छन् । उनका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको छ । 

सन् २०१८ मा उनलाई इजरायलको सर्वोच्च पदक “इजरायल प्राइज”बाट सम्मानित गरिएको थियो । यदि निर्वाचित भए उनि इजरायलको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान हुनेछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् । 

विजयी उम्मेदवारले वर्तमान राष्ट्रपति रुभेन रिभलिनलाई प्रतिस्थापन गर्नेछन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । राष्ट्रप्रमुखका रुपमा रहने भए पनि इजरायलको राष्ट्रपति सम्मानित पद मात्र हुन्छ, र कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत हुन्छ ।