जनकपुरधाम / सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् ।
गत वैशाख २० गते ईश्वरपुर नगरपालिका –१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर अगाडिको आँप बगैचामा आगोले जलेर घाइते भएका थिए । उनको उपचारको क्रममा वैशाख २१ गते काठमाडौंमा मृत्यु भएको थियो । उनलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा छिमेकी ३५ बर्षीय शिवजी साह र सुनीता साह पक्राउ परेका थिए ।
सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसमा शिवजीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
अर्की प्रतिवादी सुनीतालाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकामा उनले सो धरौटी तिर्न नसक्दा उनलाई पनि थुना पठाइएको छ ।