काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा. बलराम श्रेष्ठले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

जापानबाट महेश श्रेष्ठले एक लाख रुपैया, डा. बलराम श्रेष्ठले ८० हजार रुपैयाँ, कृष्णप्रसाद भण्डारीेले रु १० हजार,  भेषनारायण श्रेष्ठले १० हजार रुपैया र शङ्करप्रसाद न्यौपानेले १० हजार रुपैया गरी दुई लाख १० हजार रुपैया पहिलो चरणमा ती जिल्लामा पठाइसकिएको छ । जापानबाट अरु करिब रु दुई लाख सहयोगको प्रतिबद्धता भएको छ । अन्य देशबाट १८ लाख रुपैया जम्मा भएको उनले बताए । हालसम्म अन्य देशबाट समेत गरी २१ लाख रुपैयाको सहयोग जुटाउन लागिएको छ । प्रत्येक जिल्लालाई रु सात लाखका दरले सहयोग दिने गरी काम भइरहेको शाखाले जनाएको छ ।

जम्मा भएको सहयोग रकम बैंकमार्फत् पठाइएको छ । सहयोग गर्न चाहनेलाई सम्पर्क गर्न पनि शाखाले सार्वजनिक आह्वान गरेको छ । जम्मा हुने सहयोग बैंकमार्फत नै पठाइने जापान शाखा संयोजक श्रेष्ठले बताए । प्राप्त सहयोग कांग्रेसका सम्बन्धित जिल्ला कार्य समितिमार्फत कोरोना सङ्क्रमित भई जीवन मरणका लागि लडिरहेका नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन उपयोग गरिने जनाइएको छ ।