काठमाण्डौ / संसद विघटनको मुद्धामा जारी बहसमा कानुन व्यवसायीले विवादास्पद छवीका दुई न्यायाधीशका विषयमा कुरा उठाएपछि यो विषयलाई लिएर सर्वोच्चमा भाडभैलो मच्चिने संकेत देखा पर्न थालेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटनको मुद्धालाई संवैधानिक इजलास गठन गरेर इजलासमा लगेपछि न्यायाधीश छनौटको विषयलाई लिएर बहसमा कानुन व्यवसायीले आपत्ति प्रकट गरेपछि यो विषय पेचिलो बन्दै गएको हो ।
कानुन व्यवसायीले बहसमा संवैधानिक इजलासमा पारिएका दुई न्यायाधीश तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्नु पर्ने माग राखेका थिए । जवाफमा प्रधानन्याधीश चोलेन्द्रले इजलास छाड्ने नछाड्ने भनेर निर्णय गर्न केसी र श्रेष्ठलाई जिम्मा दिएका थिए । दुवैले इजलास छाड्न इन्कार गरेपछि इजलासमा बचेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन श्रेष्ठले इजलास छाड्ने तयारी थालेपछि सर्वोच्चमा पनि संसद विघटनको असर देखिने भएको हो ।
लकडाउनको अवधिमा पेशीमा रहेका न्यायाधीश मात्रै अदालतमा उपस्थित हुने व्यवस्था मिलाईएको भएपनि इजलासमा भएको न्यायाधीश छनौटका विषयमा छलफल गर्न भन्दै सबै न्यायाधीश आज सर्वोच्चमा उपस्थित भएका छन् । अदालत स्रोतका अनुसार कार्की र श्रेष्ठले विवादास्पद छवीका न्यायाधीशले इजलास नछाडेकाले इजलास छाड्नका लागि बाँकी न्यायाधीशको समेत मञ्जुरी लिने कोशिस गरिरहेका छन् ।