बिर्तामोड / जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री सहित ८ मन्त्री र २ राज्यमन्त्री माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका उनीहरुले उपप्रधानमन्त्री सहित ८ मन्त्री र २ राज्यमन्त्री पाए सरकारमा सहभागि हुने बताएका हुन् । भेटमा मन्त्रालय बाँडफाँटबारे कुराकानी भएको स्रोतले जनायो ।
जसपाले अघि सारेका माग–मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको ठाकुरनिकट केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए।
प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए महन्थ र महतो
महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए जसपा औपचारिक रुपमा विभाजन हुनेछ। सकभर पार्टी विभाजन नहुनेगरी सरकारमा जानुपर्ने सुझाव आएकोले एकदुई दिन कुरेको भण्डारीले दाबी गरे।
‘पार्टी एकता बचाएर सरकारमा सहभागी हुन खोजेको हो,’ भण्डारीले भने । जसपालाई सरकारमा ८ वटा मन्त्रालय दिने सहमति जुटेको अर्का सांसद प्रमोद साहले बताए।
‘८ वटा मन्त्रालय र २ राज्यमन्त्री लिएर हामी सरकारमा जान्छौँ,’ साहले भने, ‘राजेन्द्र महतोको लिडरसिपमा सरकारमा जाने तयारी भएको छ। तर, अन्तिममा लिडरसिप परिवर्तन पनि हुनसक्छ।’