बिर्तामोड / नेपालमा गणतन्त्र दिवश मनाईदै गरेको समयमा भारतका पूर्वविदेश सचिव श्यामशरणले प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रिय बनेको र उनले भारतीय जनता पार्टीसँग मिलेर नेपालमा हिन्दु राष्ट्र सहितको राजसंस्था फर्काउने बाचा गरेकोमा नेपाली जनता विस्वस्त रहेको बताएका छन् ।
उनले भारतीय जनता पार्टी नेतृत्वको सरकारले नेपालमा राजसंस्था सहितको हिन्दुराष्ट्र फर्काउन चाहेको हल्ला आइरहेकाले त्यसबारे भारत सरकारले स्पष्ट पार्नु पर्ने समेत बताएका छन् ।
इन्डियन एक्सप्रेसमा प्रकाशित उनको लेखमार्फत् नेपालका लागि पूर्वराजदूत रहिसकेका श्यामशरणले लेखेका छन्, ‘भारतले राजसंस्था फर्काउन भूमिका खेलिरहेको चर्चा काठमाडौंमा चलिरहेको छ ।’ उनले नेपालमा राजसंस्थाको अन्त भारतका लागि ठूलो उपलब्धि भएको भन्दै राजसंस्था फर्काउने तर्फ लाग्न नहुनेमा जोड समेत दिएका छन् ।
पुर्व विदेश सचिव श्यामशरणले राजसंस्थाले जहिले पनि भारतको हितविपरितको कार्य गरेको दावी समेत गरेका छन् । उनले लेखेका छन्, ‘भारत सरकारले राजसंस्था फर्काउन नचाहेको स्पष्ट पार्नुपर्छ ।’ हिन्दु स्वयंसेवक संघका नेताहरुले नेपालमा राजसंस्था फर्काउने अभिव्यक्तिहरु लिइरहेकाले आशंका गर्ने ठाउँ भएको भन्दै भारत सरकारलाई यो विषयमा स्पष्ट पार्न समेत उनले आग्रह गरेका छन् ।
विगतमा राजसंस्थाले नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको उनले आफ्नो लेखमा दावी गरेका छन् । आफू राजदूत हुँदै विदेशसचिव बन्दा राजसंस्थाको भूमिका भारतको अहितमा रहेको उनले जिकीर समेत गरेका छन् । उनले लेखेका छन्, ‘राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको मेरो अनुभव छ ।’
श्यामशरणले भारत प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रिय भएको विषय उठिरहेको समेत लेखेका छन् । ‘ओली भारतका प्रिय हुन् भन्ने धारणा काठमाडौंमा बनेको छ,’ उनले लेखेका छन्, ‘ओलीले भाजपा सरकारलाई राजसंस्था सहितको हिन्दु राष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचार बनेको छ ।’