म्याग्दी / अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानी कुण्डलाई संरक्षण गरी व्यवस्थित बनाउन पूर्वाधार निर्माण भएको छ । गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण गरिएको बताए । 

“प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधारले सहयोग पुग्ने विश्वास छ”, उनले भने, “पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ, स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।” 

OM Sai Pathibhara Hospital

२५ लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगङ्गा निर्माण सेवाले १७ लाख ७४ हजार ९ सय ५८ रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताए । यसैगरी पाउद्धार तातोपानी कुण्डमा पनि दुईवटा पोखरी र ट्रसले छाएको टहरा निर्माण गरिएको छ । 

पिसिसी ढलान गरिएको पोखरीको भित्तामा टायल राखिएको छ । रु २० लाख लागत अनुमान गरिएको यस योजना निर्माण गर्न बिएनबी कन्ट्रक्शनले रु १४ लाख ६८ हजारमा ठेक्का लिएको थियो । 

निर्माण कम्पनीले सम्झौताअनुसारको काम सकेर अन्तिम भुक्तानी पनि लगिसकेको इञ्जीनियर भण्डारीले बताए । गाउँपालिकाबाहेक पाउद्वार तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले पनि पूर्वाधार तयार पारेका छन् । 

समितिका अध्यक्ष रुमलाल पुनले नयाँ टहरा, सानो पोखरी, विश्रामस्थल, शौचालय र पोखरीको भुइँमा ढुङ्गा बिछ्याइएको बताए । समितिको कोषमा रहेको रकम र यस वर्ष पुसदेखि चैतसम्म स्नानका लागि आएकाबाट जुटाएको सहयोग गरी रु छ लाख बराबरको काम गरिएको अध्यक्ष पुनले जानकारी दिए । 

रातोपानी र पाउद्धारका तातोपानी कुण्ड उपचारस्थलका रूपमा परिचित छन् । चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, गानोगोलालगायत समस्या भएका बिरामीको उपचारका लागि यहाँका तातोपानी कुण्डमा स्नान गर्न आउने गर्छन् । टहरा र पोखरी भएपछि जुनसुकै समयमा पनि स्नान गर्न सहज भएको छ । 

खुला ठाउँमा स्नान गर्दा तथा झरी पर्दा रुझाउने र गर्मीमा घामले पोल्ने समस्या थियो । पोखरीमा शरीर डुबाएर स्नान गर्न पनि सहज भएको छ । तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई व्यवस्थित गरिएको छ । भुरुङ तातोपानी कुण्ड पर्यटकीयस्थलका रूपमा परिचित छ ।