काठमाडौँ / वैकल्पिक सरकार बनाउन गठबन्धन सहित अघि बढेका पाँच दल प्रतिनिधि सभा विघटन भएपछि १ सय ४९ सांसदको नागरिकता र हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।
प्रतिनिधि सभा विघटनअघि संविधानको धारा ७६ (५) अनुसार पाँच दलले गठबन्धन बनाएर १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा वैकल्पिक सरकारको दाबी गरेका थिए ।
आफूहरूले समर्थन गरेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद अहिले सर्वोच्च अदालतमा रिट हाल्न गएका छन्।
नेकपा एमालेका सांसद झपट रावलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न १४६ सांसदले हस्ताक्षर गरेको र उनीहरू अहिले आफ्नो सनाखत गर्न सर्वोच्चमा लाइन लागेको बताए ।