काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेको भनिएका योगेश भट्टराई लगायतका नेताहरू फेरि माधव नेपाल पक्षमै फर्किएका छन् । भट्टराई लगायत घनश्याम भुषाल, सुरेन्द्र पाण्डेल गायतका नेताहरू फेरि नेपाल पक्षमै फर्किएका हुन् ।
माधव पक्षका सांसदले जेठ ७ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरे पनि भट्टराई, भुषाल, पाण्डेलगायतका नेताहरूले हस्ताक्षर गरेका थिएनन् । त्यसपछि उनीहरूलाई ओली पक्षमा लागेको आंकलन गरिएको थियो ।
तर, देउवाको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेको राति नै ओलीले फेरि संसद विघटन गरेकोले उनीहरूले ओलीलाई साथ दिन नसक्ने र नेपाल पक्षमै लाग्ने जानकारी गराइसकेका छन् ।
उनीहरू यसअघि संसद् विघटन विरुद्ध आन्दोलनमा उत्रिएका थिए । फेरि नेपाल पक्षमा लागेर उनीहरू संसद् विघटन विरुद्ध लाग्ने भएका छन् ।
उनीहरू अहिले संसद् विघटनविरुद्ध अदालतमा रिट दर्ताका लागि हस्ताक्षर संकलन गर्ने स्थानमा पुगिसकेका छन् ।
यसअघि आइतबार बिहान भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सहि गन्तव्यमा नपुर्याउने भन्दै संवाद गर्न आग्रह गरेका थिए ।