किमाथाङ्का / सङ्खुवासभाको  सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौ जना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । 

जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाए । 

OM Sai Pathibhara Hospital

त्यस्तै बिरामी पर्नेमा उनका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए । 

च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिए ।