बिर्तामोड / चिकित्सकहरुले महामारीको समयमा जनताको जीवन रक्षामा लाग्न छाडेर प्रधानमन्त्री र राष्ट्रपतिले मध्यावधि निर्वाचनको घोषणा गरेर नागरिकको जीवनप्रति गैर जिम्मेवार बनेको आरोप लगाएका छन् ।
कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले चिन्तित र मर्माहित तुल्याएको उनीहरुले बताएका छन् ।
उनीहरुले विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रमा आएको सङ्कटलाई स्वीकार गरेको सरकारले निर्वाचनको घोषणा गर्नु विरोधाभासपूर्ण भएको जिकीर गरेका छन् । उनीहरुले निर्वाचनमा ठूलो खर्च हुने जसले गर्दा कोरोनाका लागि आवश्यक स्रोतमा कटौति भएर स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आउने समेत बताएका छन् ।
निर्वाचनका कारण भिडभाड बढ्ने र त्यसले अहिलेको भन्दा खतरा निम्त्याउन सक्ने भएकाले सरकारको निर्वाचन गराउने निर्णय क्षम्य नहुने पनि बताएका छन् । जारी विज्ञप्तिमा भनिएको छ – ‘यो क्षम्य हुदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौँ । त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन हामी माग गर्दछौँ,’
जारी विज्ञप्तिमा स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै सरकारी निर्णयको प्रतिकार गर्न सरोकारवाला पक्षलाई आह्वान समेत गरिएको छ । यस्तो अपिल जारी गर्नेमा डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्री राज पाण्डे, डा. सुजन बाबु मरहठ्ठा, डा. अरुणा उप्रेती, डा. समिरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बि. सी. र डा. कृष्णमान शाक्य रहेका छन् ।